पर्वत । अलैंचीको मूल्यमा लगातार गिरावट आएपछि किसानहरु चिन्तित बनेका छन् । कुनै बेला प्रतिमन १ लाख २५ हजार पर्ने अलैँची अहिले जम्मा २५ हजारमा झरेको छ । अलैंचीको मूल्यमा गिरावट आएसँगै अलैँची किसान निराश देखिएका छन् । पर्वतको फलेवास नगरपालिका ९ का जमूना ढकाल पंगालीले ३ वर्ष अगाडी अलैंची खेती थाल्नुभयो ।
अलैंची खेती गर्नुअघि उहाँ परम्परागत बाली लगाउनुहुन्थ्यो । पंगालीलाई बजारमा अलैंचीको भाउ घटेको पत्तो छैन । मुल्यमा गिरावट आएपछि किसानहरुले अलैँची गोदाममा थन्काएर राखेका छन् । अलैंची खेतीका अगुवा मोदी १ भूकदेउरालीका केवि गुरुङका अनुसार चालिस केजीको एक मन हुनेगर्छ ।
३ वर्ष अघिसम्म एक मनको १ लाख २५ हजार रुपैयाँ पथ्र्यो । तर अहिले एक मन बेच्दा २४ हजार रुपैयाँ मात्रै आउँछ । किसान मात्र होईन मूल्यमा आएको गिरावटले व्यापारीलाई समेत समस्या परिरहेको छ । नेपालबाट भारत जाने अलैंचीमा नक्कली अलैंची मिसावट गरि तेस्रो देश पु¥याईएको हुनसक्ने भएकाले मूल्यमा गिरावट आएको कतिपयको बुझाइ छ ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बिचौलियाका कारण किसानको अलैंचीले भाउ नपाएको बताउनुभयो । नेपालमा अलैंचीको गुणस्तर जाँच गर्ने क्वारेन्टईनको पनि समस्या छ । यहाँको उत्पादन भारत लगेर प्रशोधन गर्नुपर्छ । भारतमा पुगेपछि नेपालको अलैंची भारतिय भनेर अन्तराष्ट्रिय बजारमा विक्री हुने गरेको छ ।