गोरखा २१ ,पुस । गोरखाका दुईवटा स्थानीय तहमा जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग जाइकाले जीविकोपार्जन सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । जाइकाले जिल्लाको पालुङटार नगरपालिका र वारपाक सुलिकोट गाऊँपालिकामा रोजगारी सिर्जना गर्ने योजना बमोजिम कार्यक्रम सञ्चालन गर्न लागेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता एवम् वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख गोपाल अर्यालले जानकारी दिनुभयो ।
सहभागीतात्मक ग्रामीण पुनर्लाभ कार्यक्रम नाम दिइएको उक्त परियोजनाका कार्यान्वयनका लागि स्थानीयतहको छनोट भईसकेकाले अब कार्ययोजना बनाएर कार्यक्रम शुरु गर्ने प्रमुख गोपाल अर्यालको भनाई छ । गोरखाको कार्यक्रम सञ्चालनकाल लागि वारपाक सुलिकोट, अजिरकोट र शहिद लखन गाऊँपालिका तथा गोरखा र पालुङटार नगरपालिकाको अध्ययन गरेकामा विभिन्न सूचकका आधारमा पालुङटार नगरपालिका र वारपाक सुलिकोट गाऊँपालिकालाई छनोट गरिएको उहाँले बताउनुभयो ।
परियोजना सञ्चालनका लागि प्राधिकरण र जाइकाविच सम्झौता भैसकेको छ । पुननिर्माणपछि सामाजिक र आर्थिक पुनरुत्थानको काम गर्नै पर्ने भएकाले गोरखाका दुई स्थानीय तहमा नमुनाको रुपमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको प्राधिकरण अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।