गोरखा २१, पुस ।
पश्चिमी वायु आजबाट फेरि सक्रिय भएको छ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशैभरिको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । कमजोर बनेको पश्चिमी वायु आज दिउसोबाट फेरि नेपाल भित्रिएकाले भएकाले साँझदेखि पानी र हिउँ पर्ने महाशाखाले जनाएको छ ।
वायुका कारण बिहीबारदेखि शनिबारसम्म पानी र हिउँ परेको थियो । हिजो भने काठमाडौंसहित देशका धेरै ठाउँमा घाम लागेको थियो । महाशाखाका अनुसार आज उच्च हिमाली र पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । पश्चिम र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने छ । आज राति पनि देशभर सामान्य बदली रही पश्चिमका थोरै ठाउँ, मध्य र पुर्वका केही ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।
त्यस्तै पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हिमपातको सम्भावना छ । पश्चिमी न्युन चापीय प्रणालीका कारण बुधबार पनि देशभरको मौसम बदली हुने महाशाखाले जनाएको छ । यो प्रणाली शुक्रबारसम्म कायम रहने मौसमविद्ले जनाएका छन् । आगामी शनिबारदेखि भने मौसम पूर्ण रुपमा खुल्ने मौसमविद्को भनाइ छ ।