गत कात्तिक १८ गते राति काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका आठमा भएको दम्पती हत्याका संलग्न दुई अभियुक्तलाई प्रहरीले पत्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नमोबुद्ध नगरपालिका आठ डराउनेपोखरी तल्लो हटियामा पसल सञ्चालन गर्दै आएका श्यामकृष्ण श्रेष्ठ र उहाँकी श्रीमती रुकुमाया श्रेष्ठको हत्या आरोपमा उदयपुर चौदण्डीगडी नगरपालिका १० का किरणकुमार मगर र सुमन राइलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौमा बस्दै आएका अभियुक्त कात्तिक १८ गते पुुराना सिक्का चोर्ने मनसायले श्यामकृष्णको घर पुगेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै श्यामकृष्णको घर बनाउन प्रयोग भएका मजदूर रहेको समेत जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले मगरलाई ललितपुर महानगरपालिका–२५, भैंसेपाटीबाट र राइलाई काठमाण्डौ महानगरपालिका–सात सरस्वतीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रबी पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरानो सिक्का छ भन्ने लोभमा लुट्न पुगेका उनिहरुले लुकाएर राखेको एक सय १२ थान सिक्का संगै रुकुमायाले लगाएको मुन्द्रा बरामद भएको छ । पक्राउ परेका दुइ जनालाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा सार्वजनिक गरिएको हो । अभियुक्त सार्वजनिक गर्दै एसपी पौडेलले पक्राउ परेका उपर थप अनुसन्धानका लागि सात दिन म्याद जिल्ला अदालतबाट थप गरिएको बताउनुभयो ।
यसैबीच काठमाडौं विश्वविद्यालयमा लगाइएको अनिश्चितकालिन तालाबन्दीले पठनपाठन ठप्प भएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले लगाएको अनिश्चितकालका लागि तालाबन्दीका कारण पठनपाठन ठप्प भएको हो । काठमाडौं विश्वविद्यालय प्राध्यापक र कर्मचारी संघबीच विगतमा भएको सम्झौता पालना नगरेको भन्दै पुस १५ देखी तालाबन्दी गरेका हुन् ।
संघसँग भएका सम्झौता पटक पटक पालना गर्ने भनिएपनि कार्यान्वयन नगरेपछि तालाबन्दी गर्न बाध्य भएको काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. बेदमणी दाहालले बताउनुभयो ।