काठमाण्डौ १३, कात्तिक । पटक पटक बिबादमा पर्दै आएका भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयले साईबर व्युरोलाई निर्देशन दिएको छ । एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न कार्यालयले बिहिबार साइबर ब्युरो भोटाहिटीलाई कारवाही उनि माथि कारबाहीका लागि पत्र पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिनुभयो ।
भिटेन नयाँ सार्वजनिक गरेको गीतमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका नभएको र प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखिएकाले कारबाही गर्नुपर्ने ठहर प्रहरीले गरेको उहाँको भनाई छ । भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए। ‘ उनिमाथी कारबाहीका लागि आफुहरु प्रारम्भिक अनुसन्धानको प्रारम्भिक चरणमा रहेको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द अर्यालले जानकारी दिनुभयो ।
केही दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ। यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।