गोरखा २, असोज । शहिद लखन गाउँपालिका गोरखाको आयोजनामा प्रविधिमैत्री कक्षा व्यवस्थापन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका स्थित शिक्षा शाखाको समन्वयमा भएको कार्यक्रमले पालिका भित्र रहेका सबै तहका सबै विद्यालयमा प्रविधिमैत्री शिक्षक प्रशिक्षक तयार गर्ने जनाएको छ ।
पालिकामा प्रशिक्षण लिएका १९ जना शिक्षकहरुले आफ्नो विद्यालय र छिमेकी विद्यालयका शिक्षकहरुलाई चार दिन तालिम दिएसँगै पालिका भित्र र नजिकका विद्यालयका शिक्षकलाई ४ दिने तालिम दिएर प्रविधिमैत्री बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा यस अघि नै कक्षा ११ र १२ को पठनपाठन भदौ २३ गतेदेखि नै प्रविधिको प्रयोग गरेर सञ्चालन भईरहेको छ ।
शहिद लखन गाउँपालिकाले ११ माध्यामिक बिधालयका १२ शिक्षक, ६ आधारभूत बिधालयका ६ शिक्षक र १ प्राथमिक विद्यालयका एक शिक्षक गरी कुल १९ जनालाई प्रविधिमैत्री तालिम दिएको हो । प्रविधिमैत्री तालिममा प्रशिक्षकहरु कृष्ण गुरुङ, अनुप बाबू श्रेष्ठ , शिक्षा शाखाका कर्मचारीहरुले सहजीकरण गरेका थिए । पालिका भित्र ११ मावि, ६ आधारभूत र २७ वटा प्रावि रहेका छन् ।
सुविधा सम्पन्न भवन, भौतिक स्रोत साधनको पर्याप्तालाई ध्यान दिदै शहिदलखनमा प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गर्न सकिने अवस्था रहेकाले प्रशिक्षक तयार गरी विद्यालय सञ्चालन गर्ने वातावरण निर्माण गरेको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिनुभयो ।