गोरखा २६, साउन । कोरोना संक्रमितको उपचारका लागि गोरखा अस्पतालका निर्माण गरिएको आइसोलेन कक्ष खाली गरिएको छ । अस्पतालमा अन्य बिरामीको उपचारका लागि सहज गर्नका लागि कोरोना संक्रमित सवै निको भएर घर फर्किएसंगै आइसोलन कक्ष खाली गरिएको अस्पताल सञ्चालक समितिका सदस्य गोर्बद्धन श्रेष्ठले जानकारी दिनुभयो ।
अबदेखि जिल्ला भित्र कोरोना संक्रमित बिरामीहरुलाई उपचारका लागि गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसन मात्र प्रयोग गरिने उहाँको भनाई छ । गोरखा अस्पतालमा हिजोसम्म ७ जना कोरोना संक्रमित उपचाररत रहेका थिए । उनिहरुको पिसिआर रिर्पोट नेगेटिभ आएपछि आज सवैलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले एक बिज्ञप्ती मार्फत जनाएको छ ।
अस्पतालले जारी गरेको बिज्ञप्तीमा अस्पतालमा उपचाररत २ महिला र ५ पुरुष संक्रमित उपचार पछि घर फर्किएका हुन् । कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारका २४ बर्ष र ३२ बर्षकी २ महिला, ७ बर्ष र १० बर्षका २ बालक रहेका छन् ।
त्यस्तै सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २५ बर्षिय पुरुष, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ र ३ का २९ र २२ बर्षका पुरुष पनि आजै कोरोना संक्रमण मुक्त भएर घर फर्किएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिनुभयो ।
उनिहरुलाई थप १४ दिन होम क्वारेन्टिनमा रहन आग्रह गरिएको अस्पतालले जनाएको छ । यो संगै गोरखा जिल्लामा कोरोना संक्रमण निको हुनेको संख्या १ सय १२ पुगेको छ । गोरखा जिल्लामा अब ४ जना संक्रमित मात्र उपचाररत रहेका छन् ।