गोरखा २५, असार । अहिलेसम्म कोरोना संक्रमण नभेटिएको गोरखाको आरुघाट गाउँपालिकामा पहिलो पटक आज (बिहिबार) संक्रमित फेला परेको छ । भारतबाट फर्किएर वडा नम्बर ९ को भिमोदय माध्यामिक बिधालयको क्वारेन्टिनमा बस्दै आएका एक युवकमा संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिजय श्रेष्ठले जानकारी दिनुभयो ।
उनि असार १२ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । आरुघाट गाउँपालिका भित्रै यस अघि कोरोना संक्रमित भेटिएको थिएन । गाउँपालिका घर भएका जुम्लामा कार्यरत एक युवकमा भने जुम्ला नै कोरोना संक्रमण भएको थियो । उनि निको भएर फर्किसकेका छन् । यस्तै जिल्लाको भीमसेन थापा गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
वडा नम्बर ४ धावा स्थित प्रभात माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेकी एक महिलामा आज संक्रमण भएको पाइएको हो । महिला भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज रिजालले जानकारी दिनुभयो । जिल्लामा आज थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएसगै संक्रमितको सख्या ९८ पुगेको छ ।