गोरखा १७, असार । गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तरगत पर्ने पन्ध्रकिलो मोडमा ट्रिपरको ठक्करबाट नेपाली सेनाका ४ जना घाइते भएका छन् । मझुवा चेकप्वाइन्टबाट डियुटी सकेर सदरमुकामतर्फ फर्कदै गरेको नेपाली सेनाको बा १ झ ५८०० नम्बरको भ्यानलाई बिपरित दिशा तर्फ जादै गरेको लु १ क ३८४६ नम्बरको ट्रिपरले आज दिउँसो करिब साढे ४ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाइते हुनेहरुमा रणसिँह दल गण गोरखामा कार्यरत पालुङटार नगरपालिका–३ का प्रेम परियार, ललितपुर बज्रबाराही नगरपालिकाका रञ्जित राना, कटारी नगरपालिका– ८ का इन्द्रबहादुर तामाङ, र सिद्धलेक गाउँपालिका १ धादिङ सिताराम सिलवाल रहेका छन् ।घाइतेमध्ये प्रेम परियार र रञ्जित रानाको अबस्था गम्भीर भएकाले थप उपचारका लागि चितवन पठाइएकोे रणसिँह दल गण गोरखाका गणपति उज्वल के.सीले जानकारी दिनुभयो ।
उहाँहरु दुवैको टाउको चोट लागेको छ । अन्य घाइतेहरुको भने गोरखा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटना लगत्तै फरार भएका ट्रिपर चालकलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।