काठमाण्डौं ४ जेठ । नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। स्वास्थ्यकर्मीमाथि चेकजाँचका नाममा गरिएको दुव्र्यवहार बाहिर आएपछि घटनाको अनुसन्धान गर्न प्रहरीले घटनामा संलगन भनिएका काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीलाई बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश –३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए। आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए।
उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोध समेत भएको थियो। दुर्व्यवहार गर्ने उत्तम कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको छ।