काठमाण्डौं ४, जेठ । कोरोनाका कारण ज्यान गुमाउनु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनीलाई आइसोलेसनमा राखिएको हो । उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले जानकारी दिनुभयो । सोमबार सम्ममा परिवारका सवैको कोरोना परीक्षणको रिर्पोट आउने उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोकको बाह्रविसे ९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। पछि उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।
ती महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। अहिले महिलाको मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसुति वार्डसमेत सिल गरिएको छ।