नागरिक सवाल संवाददाता
गोरखा ३, जेठ – गोरखा जिल्लामा लकडाउन सुरु भएयता १ सय ७६ जना व्यक्तिलाई क्वारिन्टनमा राखिएको छ । क्वारिन्टनमा राखिएका मध्ये ४९ जना महिला र १२७ जना पूरुष रहेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।
जिल्ला भित्र कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम रोकथाम र न्युनिकरणका लागि बिदेश तथा जिल्ला बाहिरबाट आएकाहरुलाई ११ वटै स्थानीय तहहरुले क्वारिन्टनमा राख्दै आएका छन् । गोरखा जिल्ला भित्र अहिलेसम्म कुल १७६ मध्ये १४७ जना क्वारेन्टाइनाम १४ दिन बसेर घर फर्किसकेका छन् ।
क्वारिन्टनबाट घर फिर्ता भएकाहरुमा १०२ जना पूरुष र ४५ जना महिला रहेको उहाँले बताउनुभयो । अहिले पनि जिल्ला भित्रका ११ वटै स्थानीय तहमा गरी २९ जना क्वारिन्टनमा रहेको अधिकृत रोकाको भनाई छ । क्वारिन्टनमा रहेका मध्ये गोरखा नगरपालिकामा १४ जना, पालुङटार नगरपालिकामा २ जना र आरुघाट गाउँपालिकामा ९ जना रहेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।
गोरखा जिल्लामा ४८ स्थानमा अहिलेसम्म कुल ४०५ वेड क्वारिन्टन निर्माण गरिएको छ ।