काभ्रेपलाञ्चोक १०, बैशाख । युवतीलाई बलत्कारको आरोपमा फरार रहेका तीन फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले अभियुक्तहरुलाई ८ महिना पछि पक्राउ गरेको जनाएको हो । गएको असोजदेखि फरार रहेका उनीहरुलाई आफ्नै घरमा लुकीछिपी बसेको ठाउँबाट अबैद्य हातहतियार सहित पक्राउ गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेका तीन जनाले २०७६ असोज १३ गते धुलिखेलको हस्पिटल चोकमा बसोबास गर्दै आएकी १६ वर्षीय बालिकालाई प्रलोभन देखाई जर्बजस्ती करणी गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ च ३८४९ नम्बरको बोलेरोमा राखी उनीहरुले धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्याम्पस भन्दा माथी जंगलमा लगेर गाडी भित्रै जबरजस्ती करणी गरेका थिए ।
घटनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै बालिकालाई उनीहरुले धम्काएका थिए । घटनाबारे बालिकाको परिवारले असोज १६ गते मात्रै प्रहरीमा उजुरी दिएका थिए । उक्त घटनापछि ती युवाहरु फरार थिए । करणी पश्चात फरार रहेका युवाहरुलाई मुलुकी अपराध संहिता, २०७४को करणी सम्बन्धी कसूर अन्तर्गत २०७६ असोज १६ गते जाहेरी दर्ता भएको थियो ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै पक्राउ अनुमती लिई खोजतलास गरिरहेको प्रहरीले लुकीछिपी बसी रहेको अवस्थामा उनिहरुकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका– ८ कुन्तावेशी घर भएका १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –४ को शेरा घर भएका १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका ५ घर भएका १८ वर्षीय सन्देश थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो प्रहरीले बरामद गरेको छ ।