काठमाण्डौ ६, बैशाख । दश बर्षकी सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फतुवा विजयपुर नगरपालिका ५ बस्ने बालिकालाई गत ४ चैत बिहीबार राति शौच गर्न बाहिर निस्केपछि ५५ वर्षे वारिस अन्सारीले गोठमा लगेर बलात्कार गरेको आरोप प्रहरीले लगाएको छ ।
घरबाहिर निस्केकी छोरीलाई खोज्दै जाँदा बालिकाकी आमाले जबरजस्ती करणी गरिरहेको आफैंले देखेको जानकारी गराउनु भएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको हो ।
बालिकाकी आमाले चिच्याउँदै अन्सारीलाई समाउन खोजेपछि धक्का दिएर अन्सारी भागेका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय फतुवा विजयपुरबाट प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमान्डमा गएको टोलीले अन्सारीलाई पक्राउ गरेको हो ।
गाउँमा लुकेर बसेको अवस्थामा अन्सारीलाई पक्राउ गर्न प्रहरीको टोलीले तीन घन्टा खोजबिन गर्नुपरेको थियो । अन्सारीलाई पक्राउ गर्न प्रहरीले टोललाई नै घेरा हालेको थियो ।
पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत गौरबाट पाँच दिनको म्याद थप गराइएको र आवश्यक अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रनि साहले जानकारी गराएका छन् ।