काठमाडौं, ११ चैत । महोत्तरीमा एक जना पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी छन् ।
सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिनुभयो । गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका ८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो ।
मृतकको उनको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो । सनाखत गर्न नसकियोस् भनेर उनको अनुहार जलाएको अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै थिए । त्यसबीचमै घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । डिएसपी जयसवारका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता छ । यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको उहाँले बताउनुभयो ।
‘अनुसन्धानकै क्रममा छौं। अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ । पक्राउ परेपछि थप भन्न सक्छौं,’ उहाँले भन्नुभयो । घटना विवाहेत्तर सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको भनाइ छ । यद्यपि यसबारे प्रहरीले खुलाइसकेको छैन ।