काठमाण्डौं २५, चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट दुई थान हतियारसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । तर गाडी धनी भने पक्राउ परेका छैनन् ।
सशस्त्र प्रहरीको टोलीले आज साँझ कलुवापुरबाट नियन्त्रणमा लिएको गाडीबाट प्वाईन्ट टुटु एल आर एक थान र सोको १४ वटा गोली, एक थान एयर गन र सोको १ सय ७६ वटा गोलीसमेत बरामद गरेको छ ।गाडीबाट बिभिन्न बैंकका ६ वटा एटीएम कार्ड र आईएमइको कार्डसहित ७६ हजार रुपैयाँसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाडीमा बरामद भएका कागजात कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही गुड्डुको रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।लकडाउनको समयमा बाटोमा भारतीय नम्बर प्लटेको गाडी देखेपछि चेकजाँचका क्रममा हतियार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको शैलेश्वरी गणको टोलीले अवैध हतियारसहितको गाडी बरामद गरेको हो ।शैलेश्वरी गणका गणपति बीरसिंह साहुले बरामद गरिएको गाडी, हतियार, बैंकका कागजातहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको बताउनुभयो।