गोरखा, २३ मंसिर । विद्यालय शिक्षा विधेयकमा देखिएका मुख्य र विवादित विषयमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आजदेखि दफावार छलफल चलाउने भएको छ ।
सिंहदरवारमा दिउँसो २ बजेका लागि आजको बैठक बोलाइएको छ । मुख्य राजनीतिक दलका सचेतक र विज्ञहरूलाई छलफलमा बोलाइएको छ । समितिले छलफल गर्नुपर्ने विषयलाई बुँदागत रूपमा छुट्याएर अब छलफल गर्न नपर्ने गरी टुङ्ग्याउँदै लैजान लागेको हो ।
समितिका सचिव दशरथ धमलाका अनुसार निजी क्षेत्रबाट सञ्चालित विद्यालयको व्यवस्थापन, निःशुल्क शिक्षा नीतिको कार्यान्वयन, शिक्षकको स्वामित्व तथा वृत्तिविकास, विद्यालय शिक्षाको मोडलसम्बन्धी विषयलाई बुँदागत रूपमा उतारेर सचेतक तथा विज्ञको धारणा लिन लागिएको छ ।
त्यसबाहेक विद्यालय शिक्षालाई वैज्ञानिक, व्यावसायिक, सिपमूलक र रोजगारीमा आधारित बनाउन विद्यालय शिक्षा विधेयकमा गरिनुपर्ने परिमार्जनको विषय तथा सामुदायिक विद्यालयको व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलाई पनि बुँदागत रूपमा उतारेर सचेतक तथा विज्ञसँग परामर्श गर्न लागिएको छ । समितिले विधेयकमा संशोधनकर्तासँगको छलफल यसअघि नै सकिसकेको छ ।