काठमाडौं २३, चैत । भापाको कन्काई नगरपालिका– ३ मा एक व्यक्तिले घरमा २४ लाख रुपैया लिएर कोरोनाको राहात लिएको खुलासा भएको छ । सामुदायिक वनको छेउमा बासको टाटीले बेरेको फुसको सानो घर वरिपरि मदिराका खाली बोतल, फलाम र अन्य कवाडी सामग्री पनि असरल्ल छरिएका हेर्दा अत्यन्तै बिपन्न जस्ता देखिने एक व्यक्तिको घरमा आगलागी भएपछि रहस्य खुलेको हो ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि उहाँलाई हातमुख जोड्न समस्या हुनसक्ने स्थानीयले कल्पना गरेका थिए । कनकाईकी उपमेयर मञ्जु प्रसाईंका अनुसार त्यही सोचेर उहाँलाई राहत लिन बोलाइएको थियो । अन्दाजी ५० वर्षीय ठाकुरसिंह राईले राहत स्वरुप पाँच किलो चामल, एक किलो दाल र तेल लिएर फर्किन नपाउँदै उहाँको झुपडीमा आगलागी भएको थियो । दमकल र प्रहरी प्रशासन आगो नियन्त्रणमा जुटेको थियो ।
दैनिक मजदुरी गरेर छाक टार्ने उहाँलाई देखेका स्थानीय प्रहरीले कुनै सामान जोगाउन सकिन्छ कि भनेर बाहिर पनि निकाल्दै थिए । तर, जब घरभित्र रहेको टिनको बाकस सार्दा प्रहरी अधिकारीले हजार रुपैयाँको नोट देखेर उठाउने प्रयास गरे, त्यतिबेला एउटा नोट मात्र होइन, बण्डलैबण्डल फेला प¥यो । झापाका वन क्षेत्र चोरी, तस्करीका कारण पनि चर्चामा आउने गर्छन् । झन् बनकै छेउमा अपत्यारिलो व्यक्तिको घरमा ठूलो परिणाममा रकम भेटिएपछि प्रहरी पछि झस्कियो ।
इलाका प्रहरीका कार्यालय, सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम लिम्बुका अनुसार बाल्टी र बाकस मुनि राखिएको गरी ठाकुरसिंह राईको झुपडीबाट ९ लाख रुपैयाँ बरामद भएको थियो । तर, अनुसन्धानका क्रममा राईले राखेको पैसाको स्रोत पुष्टि भइसकेको छ । हातमा पैसा भए पनि उनले कहिल्यै मजदुरी गर्न भने छाडेनन् । नाङ्लो र डोको बुन्ने, खुर्सानीको धुलो बनाउनेदेखि कवाडी संकलनसम्मको काममा उनी पोख्त छन् । कनकाई नदीको तटबाट पानी र रेडबुलका बोतलहरुसमेत संकलन गरेर आम्दानी गरेको उहाँ बताउनु हुन्छ । यसरी संकलित रकम राईले अहिलेसम्म घरभित्रै राख्दै आएको खुलेको छ ।