काठमाडौ, २९ असोज । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता गौरव केसीले शान्ति मिसनमा लेबनानमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने छ ।
शान्ति मिसन वरपर छिटपुट घटना भएको तथा यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको जनाइएको छ । हाल लेबनानमा ८७७ नेपाली शान्ति सैनिक छन् । लेबनानमा युद्ध चर्किरहेका बेला राष्ट्रसङ्घबाट खटिएका नेपाली शान्ति सैनिकहरू लखेटिएका हुन् ।
हिजबुल्लाहविरुद्ध इजरायलले लेबनानको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेको जनाइएको छ । शान्ति सैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।