गोरखा, १३ पुष । गोरखाको बारपाक सुलिकोट गाँउपालिकास्थित तीन वटा विधालयलाई पुस्तकालय सहयोग प्रदान भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले गाउँपालिकाको वडा नं. ७ र ८ मा रहेको तीन वटा विधालयलाई सहयोग प्रदान गरेको हो ।
मण्डली आधारभुत विद्यालय, वगेश्वरी आधारभुत विद्यालय र थलीवारी आधारभुत विद्यालयहरुमा पुस्तकालय सहयोग गरिएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिनुभयो । एकिकरण नेपाल गोरखाका अनुसार ३ वटै आधारभुत विद्यालयसंगको आवश्यक परामर्शवाट पुस्तक खरिद गरि उपलब्ध गराएको जनाएको छ ।
विद्यालयको माग तथा संस्थासंग भएको सुचीको आधारमा प्रति विद्यालय १ हजार २३७ वटा पुस्तक उपलब्ध गराएको निर्देशक देवकोटाले बताउनुभयो । संस्थाले रुम टु रीड संग आवश्यक समन्वय गरि सम्वन्धित विद्यालयको शिक्षकहरुलाई पुस्तकालय व्यवस्थापन सम्वन्धि तालिम दिई पुस्तकहरुलाई ग्रोवाई विधिवाट व्यवस्थापन समेत गरि सकेको बताएको छ ।
वालवालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने हेतुले पुस्तकालय सहयोग गरेको चाईल्ड फण्ड जापानको कार्यक्रम संयोजक कृष्ण शरन डंगोलले जानकारी दिनुभयो । निर्देशक देवकोटाका अनुसार संस्थाले वगेश्वरी आधारभुत विद्यालयमा थप पुस्तकालय फर्निचर समेत सहयोग गर्न लागेको छ । यस्तै, मण्डली आधारभुत विद्यालयको भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।