गोरखा, १९ मङ्सिर । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले आज १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अबसर पारेर पालिका स्तरमा कार्यरत ५४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले स्वास्थ्य स्वयमसेविकाहरुलाई पछ्यौरा ओडाएर सम्मान गर्नुभएको उहाँले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडाबाट एक जना उत्कृष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई पुरस्कृत गरेको छ । दिवसको अबसरमा गाउँपालिकाले आजै महिला स्वास्थ्य स्वयसेविकाहरु बिच हाजिरी जवाफ प्रतियोगिताको आयोजना समेत गरेको शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।
‘प्रत्येक वडाको एक टिम बनाएर रचनात्मक कार्यका लागि हाजिरी जवाफ कार्यंक्रम गरिएको हो, उहाँले भन्नुभयो, ‘महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई क्षमता अभिबृद्धिका लागि पनि कार्यक्रम प्रभावकारी रहन्छ भन्ने अपेक्षा सहित कार्यक्रम गरिएको हो ।’ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा, उपाध्यक्ष अृमतादेवी भट्ट (वस्ती), वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।