गोरखा, २२ कार्तिक : गोरखामा गएराती कुकुरको आक्रमणबाट चितुवा मारिएको अबस्थामा फेला परेको छ । गोरखा नगरपालिका–११, स्थित दशकिलोमा रहेको सेन्ट जोसेफ स्कुलको हाताभित्र कुकुरको आक्रमणबाट चितुवा मारिएको अबस्थामा फेला परेको डिभिजन बन कार्यालय गोरखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सेन्टजोसेफ स्कुलको हाताभित्र छोडिएको एउटा सेफर्ड जात र दुईवट भोटे कुकुरलाई आक्रमण गर्न आएको चितुवालाई कुकुरले टोकेर मारेको उहाँले बताउनुभयो । ‘राती स्कुल हाताभित्र सुरक्षाका लागि छोडिएको तीनवटा मध्ये बिहान २ वटा खोरमा आएर बसेको थियो, वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काले भन्नुभयो, स्कुलको गार्डले एउटा कुकुर हराएपछि खोज्दै जाँदा चितुवा मारेर कुरेर बसी रहेको अबस्थामा फेला परेपछि कुकुरले चितुवा मारेको पुष्टी भएको हो ।’
घटनास्थलमा डिभिजन बन कार्यालयबाट गएको टोलीले मृताबस्थामा भेटिएको चितुवाको मुचुल्का उठाएर ब्यबस्थापन गरेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । मारिएको चितुवा अन्दाजी २ महिनाको पोथी चितुवा भएको उहाँको भनाई छ । गोरखाको आरुघाटमा पनि केही समयअघि कुकुरले चितुवा मारेको थियो ।