गोरखा, २१ कात्तिक । गोरखा अस्पतालमा फार्मेसीका कर्मचारीले लापरवाहीले एक बिरामीको ज्यान भएको भन्दै निलम्बन गरि कारवाही गर्न माग गरिएको छ । यहीँ कात्तिक १९ गते दिउँसो १ः१५ बजे गोरखा नगरपालिका–८, का बिनोद खत्रीको उपचारका लागि फार्मेसीमा भएको औषधी हुँदा हुदै पनि छैन भनि बाहिर पठाउने क्रममा औषधी ल्याउन ढिलाई हुदाँ ज्यान गएको भन्दै फार्मेसीमा कार्यरत कर्मचारी जुनु राई लाई निलम्बन गरी कारवाही गर्न माग गरिएको हो ।
मृतकका परिवार, वडा नम्बर ८ का वडाध्यक्ष ऋषिराम खत्री र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले संयुक्त हस्ताक्षर गरि राईलाई कानुन बमोजिम हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
छाती दुखाईको समस्या लिई चेक जाँचका लागि अस्पतालमा पुग्नु भएका खत्रीलाई चिकित्सकले परीक्षणपछि अस्पताल फार्मेसीको काउन्टरमा आफन्तलाई औषधी लिन पठाउदा सिफारिस गरिएको औषधी एस्पिरिन ३०० मिलिग्राम र क्लोपिडेज्रेल १५० मिलिग्राम फार्मेसीमा हुदाँहुदै पनि नभएको भनिएको बाहिर खोज्न मृतक पक्षको आरोप छ ।
पछि अस्पतालको फार्मेसीमा सोही औषधी ७५ मिलिग्राम र १५० मिलिग्राम फेला परेको मृतक पक्षको भनाई छ ।