गोरखा, १५ कात्तिक । गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरुले सहकर्मी चिकित्सक कुटपिटको विरोधमा हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
गत कात्तिक ६ गते ओपिडीमा काम गरिरहेका चिकित्सक अविनाश पराजुलीमाथी ३ जना युवाहरु समूहले ढोका थुनेर कुटपिट गरेका थिए । आज (मंगलवार) साँकेतिक विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा गत शनिवार गोरखा नगरपालिका वडा नम्वर ९ बस्ने २८ वर्षका समीर कुँवर, सोही ठाऊँका १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका वडा नम्वर ३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई पक्राऊ गरि प्रक्रिया अघि बढाएको छ ।
अस्पतालले दिएको निवेदनका आधारमा उनीहरुविरुद्ध कात्तिक ७ गतेनै जिल्ला प्रशासन कार्यालयमा अभद्र ब्यवहार सम्बन्धी मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पक्राऊ परेको मितिबाट लागू हुने गरि सोमवार जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो ।