गोरखा, १३ कात्तिक । गोरखाको मनकामना मन्दिर दर्शनका लागि पाल्पाबाट आउदै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भई सकेको छ ।
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका १ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहनु भएको छ ।
उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले बताउनुभया ।