गोरखा, ६ कात्तिक । मध्यपहाडी लोकमार्ग अन्र्तगत भीमसेन थापा गाउँपालिका भित्र पर्ने निवेल–ध्याम्पेसाल –ओख्ले सडक खण्डको काम तत्काल अघि बढाउने सहमति भएको छ । आयोजनाको सडक निर्माणमा ढिलासुस्ती गर्दा जनताले सास्ती खेप्नु परेको भन्दै गाउँपालिकाले सडक निर्माणको काम अघि बढाउन दवाव दिएपछि आज उक्त खण्डमा पर्ने सडक यहीँ कात्तिक १५ गतेदेखि निर्माण अघि बढाउने आयोजनाले प्रतिबद्धता जनाएको छ ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराको पहलमा आयोजना कार्यालय, निर्माण व्यवसायी र प्राबिधिकहरुको बैठक बसेर उत्त खण्डमा पर्ने ४ किलोमिटर सडक पहिलो चरणमा १५ दिन भित्र सवबेस बिच्छ्याउने, र २५ दिन भित्रमा बेस कार्यसम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनी गरेको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
त्यस्तै आगामी मंसिर १० गतेभित्र आयोजना निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता समेत ठेकेदार कम्पनीले गरेको उहाँको भनाई छ । सडक निर्माणको काम अघि बढाउन पटक पटक दबाब दिएको भएपनि ठेकेदार कम्पनीले अटेरी गरेपछि गाउँपालिकाले तत्काल बैठक बोलाएर छलफलका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेललाई आग्रह गरेपछि आज सरोकारवालाहरुको बैठक बसेर काम अघि बढाउने निर्णय भएको हो ।