Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा कारागारका कैदीबन्दीलाई दशै मनाउन भीमसेन थापा गाउँपालिकाले दियो खसी


2.3K
Shares

गोरखा कारागारका कैदीबन्दीलाई दशै मनाउन भीमसेन थापा गाउँपालिकाले दियो खसी

गोरखा, १५ असोज : गोरखा कारागारमा रहेका कैदीबन्दीहरुलाई दशै मनाउनका लागि भीमसेन थापा गाउँपालिकाले खसी उपलब्ध गराएको छ । गाउँपालिकाले कैदीबन्दीहरुलाई खुशीयालीका साथ दशै पर्व मनाउन सकोस् भन्ने उद्देस्य सहित पालिकाले खसी खरिद गरेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

‘कैदीबन्दीहरुले पनि खुशीसंग दशै मनाउन सकोस् भन्ने हेतुले गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर २० हजार रुपैया बराबरको खसी उपलब्ध गराउने निर्णय गरेको थियो, उहाँले भन्नुभयो, ‘सोही निर्णय अनुसार खसी खरिद गरि शुक्रबार कारागारमा पुगेर उपलब्ध गराइएको हो ।’ अध्यक्ष बन्जराले कारागारका प्रमुख गणेश भट्टराईको उपस्थितीमा कारागारका कैदीबन्दीहरुलाई खसी प्रदान गरेको बताउनुभयो ।

उहाँले कारागारमा रहेका कैदीबन्दीहरुलाई कारागार सजाय भोग्ने थलो मात्र नभएर सिकाई सिक्ने पाठशाला पनि भएकाले जेलमा रहदा कैदीबन्दीहरुलाई स्वरोजगारमूलक सिप सिकाईमा लाग्न अनुुरोध पनि गर्नुभयो । अध्यक्ष बन्जराले नेपालको बर्तमान राजनीतिक परिवर्तनका लागी आफु पनि झण्डै ६ बर्ष लामो समय कारागारमा बिताएको स्मरण समेत गर्नुभयो ।

‘कारागारमा रहेर स्वरोजगारमूलक सिप सिक्न सकेर त्यसले समय बिताउन सजिलो हुने र राम्रो आम्दानी गर्न पनि सकिन्छ, उहाँले भन्नुभयो,‘त्यसका लागी आबश्यक पर्ने तालिम लगायतका लागी स्थानीय सरकारको तर्फबाट सहयोग आबश्यक भए हामी हाम्रो ठाउँबाट सहयोग गर्छौ ।’

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी, नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका पार्टी समितिका अध्यक्ष बिनोद पाण्डे लगायतको सहभागिता रहेको थियो । गोरखा कारागारमा अहिले बिभिन्न घटनामा जेल सजाए पाएका ९८ जना कैदीबन्दीहरु कारागारमा सजाय भोग्दै आएका छन् । कारागारमा रहेका कैदीबन्दीहरुमा ९० जना पुरुष र ८ जना महिला रहेको कारागारका प्रमुख गणेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology