गोरखा, १० असोज । गोरखा नगरपालिका वडा नम्बर ६ मा अवस्थित बालमन्दिर माध्यमिक विधालयमा अध्ययनरत अनाथ बालबालिका सहयोगार्थ दशै संस्कृतिक कार्यक्रम हुने भएको छ । विधालयको आयोजना कालिका संस्कृतिक कला केन्द्र र गोरखा मल्टिट्यालेन्टको सह आयोजना र हरमटारी क्लबको सहयोगमा यही असोज २३ गते कार्यक्रम हुन लागेको हो ।
विद्यालयले कोजाग्रत पूर्णिमाका दिन विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम गर्न लागेको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै विधालयका प्रध्यानध्यापक शिव बहादुर थापाले जानकारी दिनुभयो । विद्यालयमा आवासीय रुपमा अध्ययनरत अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासका लागि अक्षयकोष स्थापना गर्ने उदेश्यले कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।
विद्यालयमा हाल २४ जना अनाथ बालबालिकाले आवासिय रुपमा अध्ययन गर्दै आएका उहाँको भनाई छ । उनिहरुको लागि मासिक ७० हजार तथा बार्षिक करिब १८ लाख ७३ हजार रुपैयाँ खर्च लाग्ने भएपनि ब्ययभार वहनका लागि स्थायी स्रोत नभएकाले समस्या भएको प्रध्यानध्यापक थापाले गुनासो गर्नुभयो । स्थानीय तहबाट आंशिक बाहेक राज्यको कुनैपनि निकायबाट विद्यालयमा आर्थिक सहयोग नरहेको पनि विद्यालयले जानकारी गराएको छ ।
स्थायी स्रोत नभएका कारण हालसम्म शैक्षिक सामाग्री, खाद्यान्न लगायतमा दाताहरुकै भर पर्नु परेको प्रध्यानध्यापक थापा बताउनुभयो । विद्यालयमा अध्यायनरत अनाथ बालबालिकाको ब्यबस्थापनका लागि चुनौती बढ्दै गएकोले अक्षयकोष स्थापनाका लागि कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा कला संस्कृति र परम्परा जगेर्ना गर्नका लागी कालिका संस्कृतिक कला केन्द्र, मल्टिट्यालेन्ट ग्रुप र स्थानीय कलाकारको बजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रमका लागि २ सय, ५ सय र १ हजार रुपैयाँको टिकट बनाईएको छ । सोही टिकट शुल्कबाट उठेको रकमबाट अक्षयकोष बनाउने तय गरिएको छ । कार्यक्रम सम्पन्न गर्न १ लाख ५०हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम संयोजक योगेन्द्र प्रधानले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई मावि तहसम्म सर्वसुलभ शिक्षा प्रदान गरी स्वावलम्बी बन्न सहयोग गर्न विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्केले आग्रह गर्नुभयो । यो विधालय २०३३ सालमा नेपाल बाल संगठनको नेतृत्वमा बाल मन्दिरको रुपमा सञ्चालन हुदैं आए पनी २०७२ सालदेखि माध्यमिक तहको सञ्चालन अनुमति प्राप्त गरी हाल कक्षा १० सम्म पठनपाठन हुदैं आएको छ ।