गोरखा, २५ भदौ । नेपाल एकिकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रर्बद्धन र प्रचार–प्रसारका लागी भएको लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथुन दौड प्रतियोगितामा नेपाली सेनाका तिर्थबहादुर तामाङ बिजेता बन्नु भएको छ ।
आज भएको लिगलिगकोटदेखि गोरखा दरबारसम्मको खुल्ला म्याराथुन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दुरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ बिजेता हुनुभएको हो । बिजेता तामाङले नगद १ लाख ५० हजारसहित मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नुभएको छ ।
निर्धारित दुरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै भारतीय सेना अनिश थापा मगर द्धितिय हुनुभयो । उहाँले नगद १ लाखका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै, निर्धारित दुरी ३ घन्टा १५ मिनेटमा पार गर्दै नेपाली सेनाको बरखगणका मोहनदेव जोशी तृतिय हुनुभएको छ । उहाँले नगद ७५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा नेपाली सेनाको चण्डीप्रसाद गणका देवराज महत्तरा चौथो,नेपाली सेनाकै भिमकाली गणका गोविन्द कार्की पाचौं,सोलुखुम्बु महाकुलुङ्ग १ का अर्जुन राई कुलुङ्ग छैठौं, महेन्द्र दल गणका थमबहादुर अधिकारी सातौं, गोरखाको सिरानचोक गाउँपालिका ५ का अशोक बराम आठौं, भुपुसैनिक रैबतबहादुर दाहाल नवौं र महाविर सौर्यगणका विमल खड्काले दशौं स्थान हासिल गर्न सफल हुनुभएको छ ।
प्रतियोगितामा चौथो, पाचौं, छैठौं, सातौं, आठौं, नवौ र दशौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगिताका उत्कृष्ट १० खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वार्टरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ९२ जना सहभागी थिए । प्रतियोगितामा लिगलिगकोटदेखि चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेबेटार, पस्लाङ चौतारो हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङसम्मको दुरी तय गरिएको थियो ।
चार सय ६३ बर्ष पहिले लिगलिगकोटका राजा द्रब्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उहाँले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालबाट म्याराथुन सुरु गरिएको थियो । कोरोना प्रभावका कारण दुई वर्ष रोकिएको दौड प्रतियोगिता यो वर्ष संचालन गरिएको हो ।द्रब्यशाहले वि सं १६१६ भदौ २५ गते गोरखा नगरपालिकाको पश्लाङ चौतारोमा राज्याभिषेक गरेका थिए । राज्याभिषेक गरेको ठाउँमा हाल उहाँको शालिक छ ।
नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गरी राष्ट्रिय एकताको स्मरण गराउनुका साथै पर्यटन प्रबद्र्धनमा सघाउन प्रतियोगिताले मद्धत गर्ने अपेक्षा गरिएको बक्ताहरुले बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वार्टरका कमाण्ड सेनापति उपरथी श्रेष्ठ, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन र सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।