गोरखा, २३ भदौं : गोरखाको शहीद लखन गाउँपालिकाले पालिका स्तरीय अस्पताल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाले पालिका भित्र १५ शैयाको सुबिधा सम्पन्न शहीद लखन अस्पताल निर्माणका लागी ठेकेदार कम्पनीसंग सम्झौता गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
अस्पताल निर्माण गर्न डागन बिकोन शंखपोखरी जेभीसंग १२ करोड ४८ लाख ६१ हजार ३ सय ८ रुपैयामा ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो । ‘सम्झौता भएको मिति दुई बर्ष भित्रमा अस्पताल निर्माणको काम सम्पन गर्नुपर्ने गरी सम्झौता भएको छ, गाउँपालिका अध्यक्ष थापामगरले भन्नुभयो,‘अब अस्पताल निर्माणको काम तत्काल अघि बढ्छ ।’
गाउँपालिकाले वडा नम्बर ५ स्थित तिनमानेको केउरेनीमा अस्पताल निर्मांण गर्न लागेको उहाँको भनाई छ । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर र ठेकेदार कम्पनीको तर्फबाट कम्पनीका प्रतिनिधि भरत गिरीले हस्ताक्षर गर्नुभएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।