गोरखा, २२ भदौं : गोरखाको गण्डकी गाउँपालिकाले तोमनडाँडामा मुख्य सेवा केन्द्र खोलेर सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका सवै वडाका नागरिकहरुलाई पायक पर्ने गरी वडा नम्बर, ६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र आजदेखि सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेनाले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको बैठकले मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेर सेवा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । तोमनडाँडामा सेवा केन्द्र रहदा राजमार्गबाट पनि नजिक पर्ने तथा पालिका भित्रका सवै वडाबाट सार्वजनिक सवारी साधनमा समेत सजिलै आउन जाँउ गर्न सकिने भएकाले तोमनडाँडामामै सेवा केन्द्र सुरु गरेको अध्यक्ष तिमिल्सेनाको भनाई छ ।

‘अहिले केन्द्र रहेको भुम्लिचोकमा सेवा लिन आउजाउका लागी नागरिकहरुले हैरानी खेप्दै आउनु परेको छ, उहाँले भन्नुभयो, ‘यो ठाउँ पालिका भित्रका सबै वडाहरुबाट सुगम पनि पर्ने भएकाले प्रशासनिक काम यहीँबाट सञ्चालन गर्ने गरी मुख्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।’
गाउँपालिकाले तत्कालका लागि बिधालयको नाममा रहेको तर उपयोगमा नरहेको खाली भवनबाट सेवा केन्द्र सुरु गरेको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । ‘कार्यालयका लागी स्थानीयबासीहरुले निशुल्क जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिसकेको छन्, उहाँले भन्नुभयो, अब गाउँसभाले निणर्य गरेपछि थप व्यवस्थित बनाउने काम अघि बढ्छ ।’

मुख्य सेवा केन्द्रबाट गाउँपालिकाबासीले सवै प्रकारका प्रशासनिक सेवा प्राप्त गर्ने उहाँको भनाई छ । ‘अबदेखि नागरिकहरुले सहज रुपमा प्रशासनिक सेवा प्राप्त गर्नेछन्, उहाँले भन्नुभयो, पालिकाको केन्द्र नै सार्ने योजना भएपनि दुईतिहाई मत नपुग्दा सार्न सकिएन, त्यसैले तत्कालका लागि मुख्य सेवा केन्द्र खोलेरै भएपनि नागरिकहरु सहज सेवा पु¥याउन खोजिएको हो ।’गएको शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले तोमनडाँडामा पालिकाको मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेको थियो ।