गोरखा, २१ भदौ : गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका उपभोक्ता समितिलाई अभिमुखीकरण सम्बन्धी तालिम प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको पालिका अन्र्तगतका उपभोक्ता समिति मार्फत हुने बिकास निर्माणका कामहरु प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि उपभोक्ताहरु अभिमुखीकरण तालिम प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

पालिकाले पालिका भित्रका ८ वटै वडामा गठित उपभोक्ता समितिलाई योजना कार्यान्वयन, फच्यौट तथा गुणस्तरका सवालमा अभिमुखीकरण प्रदान गरेको उहाँले बताउनुभयो । ‘चालु आर्थिक बर्ष २०७९/०८० को स्विकृत बजेट तथा कार्यक्रम बमोजिम उपभोक्ता समिति मार्फत सञ्चालन हुने वडा स्तरी योजनाको प्रभावकारी कार्यान्वयनमा देखि समस्या समाधानका लागि तालिम सञ्चालन गरिएको हो, उहाँले भन्नुभयो, तालिमबाट उपभोक्ता समितिको कार्यसम्पादन क्षमता अभिबृद्धि गरी तोकिएकै समयमा गुणस्तरीय ढंगबाट योजना सम्पन्न गर्न मद्दत पुग्नेछ ।’
अभिमुखीकरण तालिममा उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले भदौ १० गतेदेखि तालिमको सूरुवात गरेको थियो । अभिमुखीकरण तालिममा गाउँपालिका योजना शाखा, प्राबिधिक शाखा, लेखा शाखाका प्रमुखहरुले सहभागीहरुलाई तालिम प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल), उपाध्यक्ष अमृतदेवी वस्ती (भट्ट) , वडाका वडाध्यक्षहरु लगायतको पनि सहभागिता रहेको थियो ।