गोरखा, १६ भदौ । जिल्ला समन्वय समिति गोरखाले जिल्ला भित्र सञ्चालनमा रहेका क्रसरको अनुगमन गर्न समिति गठन गरिएको छ । बुधवार बसेको ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यवस्थापन सम्बन्धी जिल्ला अनुगमन समितिको बैठकले क्रसरहरुको अनुगमन गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको समितिका सूचना अधिकारी हरिहर दवाडीले जानकारी दिनुभयो।
समितिका अन्य पदाधिकारीहरुमा पूर्वाधार बिकास कार्यायल, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धीत पालिकाको प्रतिनिधी सदस्य रहेका छन् ।
बैठकले अबको एक महिना भित्रै जिल्ला भित्र सञ्चालित क्रसरको समितिले अध्ययन गर्ने निर्णय भएको पनि संयोजक पोखरेलले बताउनुभयो ।
समितिले नदीजन्य तथा खानीजन्य पदार्थको मापदण्ड अनुसार सञ्चालन भए नभएको अनुगमन गरी समन्वय प्रमुख मोहनबहादुर थापामगरलाई प्रतिवेदन बुझाउने छ ।
अनुगमन पछि मात्र सम्बन्धित पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि सुचना प्रकाशन गर्न पाउने बैठकले निर्णय गरेको छ ।