गेरखा, ९ भदौ । गोरखाको मनासलु सहित तिन वटा हिमाल आरोहणको लागि पर्यटन विभागले अनुमति दिन सुरु गरेको छ । मनास्लु हिमाल (८१६३ मि.), हिमलुङ हिमाल (७१२६ मि.) र सारिबुङ हिमाल (६३४६ मि.) सहित तिन हिमाल चढ्न पर्यटन विभागले अनुमति जारी गरेकोको हो ।
विभागका अनुसार शरद ऋतुमा ३ वटा हिमाल आरोहणका लागि बुधबारसम्म कुल १५ जनाले अनुमति लिइसकेका छन् । यी हिमाल चढ्न ३ वटा टिमका १५ जनाले अनुमति लिएका छन् । यसमा तीन जना महिला छन् । तीन हिमालमा जारी भएको अनुमतिबाट विभागले १३ लाख ७३ हजार २४२ रुपैयाँ रोयल्टी समेत संकलन गरेको छ ।
विभागका अनुसार यस सिजनका लागि अर्जेन्टिनाबाट ८, जर्मनीबाट २, इटालीबाट २, जापानबाट २ र स्पेनबाट १ जनाले अनुमति लिएका छन् । शरद ऋतुमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोही आउने गर्छन् । यस सिजनमा साना हिमाल चढिसकेपछि वसन्त ऋतुमा सगरमाथाका लागि तयारी गर्नेहरु बढी हुन्छन् ।