गोरखा, ९ भदौ : गोरखाको पालुङ्टारमा नगरपालिकामा एकैदिन एकसय ९९ पिन्ट रगत संकलन भएको छ । देशभर रगतको अभाव भइरहेका बेला पालुङ्टार नगरपालिका र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी बुधबार रगत संकलन गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको प्राबिधिक सहयोग र समन्वयमा भएको रक्तदान कार्यक्रममा एक सय ९९ जनाले रक्तदान गरेको उहाँले बताउनुभयो । संकलित रगत मध्ये एक सय ८० पिन्ट चितवन स्थित रक्त सञ्चार केन्द्रमा पठाइएको नेपाल रेडक्रस सोसाइटी गोरखाका शाखा कार्यालयका प्रमुख सुवास घिमिरले जानकारी दिनुभयो ।
‘उन्नाइस पिन्ट रगत गोरखा स्थित रक्तसञ्चार केन्द्र ल्याइएको छ, उहाँले भन्नुभयो, ‘त्यस बाहेक बाँकी संकलित रगत एकसय ८० पिन्ट चितवनमा पठाइएको हो, चितवन पठाइएको रगत पनि गोरखामा माग भएमा ल्याउन सकिन्छ ।’