गोरखा, २० साउन । उत्तरी गोरखाको धार्चे १ यारुबगरमा भिरबाट खसेको ढुंगाले लागेर एक युवक घाइते भएका छन् ।
चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न पु¥याई खच्चड लिएर फर्किने क्रममा बिहान १० बजेतिर क्यान्टिलिभर पुल नजिकै माथिबाट खसेको ढुंगाले टाउकोमा लागेर धार्चे ७ भीरकुनाका ३७ बर्षीय बुलसिं गुरुङ गम्भीर घाइते हुनु भएको गाँउपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । साथै उहाँको हात र खुट्टामासमेत गम्भीर चोट लागेको अध्यक्ष गुरुङले बताउनु भयो ।
घाइतेलाई चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल हेलिकप्टर बोलाएर उद्धार गरी काठमाडौँ शिक्षण अस्पताल पु¥याइएको छ ।
घाइतेलाई स्याहार सम्भार गर्न साथमा स्थानीय दुई जनालाई पठाइएको उहाँले बताउनु भयो ।
सडक निर्माणमा खटिएका नेपाली सेनाको टोलीले घटना देखेपछि उद्धार गर्न स्थानीयहरुलाई आग्रह गरेका थिए ।