गोरखा, १७ साउन ।लगातारको बर्षका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा–आँबुखैरेनी सडक खण्ड अबरुद्ध भएको छ ।
पृथ्वीराजमार्ग अन्र्तगत पर्ने गोरखा नगरपालिका वडा नम्बर १३ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिनुभयो ।
‘माथिबाट पहिरो खसेर दुईतर्फ नै सडक अबरुद्ध भएको छ, उहाँले भन्नुभयो, पहिरो पन्छाउन प्रयास भइरहेको भएपनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको हो।’ पहिरोसंगै ठूलो रुख समेत खस्ने अबस्थामा रहेकाले पन्छाउन समेत जोखिम रहेको एसपी खनालले बताउनु भयो ।
मध्यान्ह्र करिब १२ः५० सडकमा पहिरो खसेको उहाँको भनाई छ । गतबर्षहरुमा सोही ठाउँमा पहिरो खस्ने गरेको थियो ।
पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुदै गोरखा सदरमुकाम प्रवेश गर्ने सवै सवारी साधान रोकिएको उहाँले बताउनुभयो ।
अबरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय सँगको समन्वयमा भईसकेको उहाँको भनाई छ ।