काठमाडौं, १६ साउन। एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेश पाण्डेले परिवारका अन्य सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो ।
दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उहाँका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ । दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।
प्राप्त प्रारम्भिक जानकारी अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किनु भएको थियो ।
उहाँले काभ्रेस्थली पदमसालमै पसल पनि राख्नु भएको थियो । उक्त पसल केही समयअघि बिक्री गरिएको थियो । उहाँको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।
पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनलाइनखबर