गोरखा, १२ साउन । बुढीगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले आयोजना अन्तरगतको डुवान क्षेत्रमा पर्ने जमिन, घरगोठ तथा फलफुल र बोटबिरुवाको मुआब्जा बितरणमा देखिएका समस्या बारेमा आयोजनासंग छलफल गरेको छ । आयोजनाको सिउरेनीटार कार्यालयमा बुधबार भएको छलफलमा गोरखा तर्फ डुवान क्षेत्रमा प्रभावित क्षेत्रका जनप्रतिनिधि सहित आयोजना अन्र्तगत मुआब्जा बितरण तथा पुर्नबास इकाईका प्रमुख जगत श्रेष्ठ लगायतको सहभागिता रहेको सरोकार समितिका सचिव भरत खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गोरखा क्षेत्र नम्बर १ संघिय सांसद हरीराज अधिकारी (कुमार) ले आयोजनाले प्रभावित क्षेत्रका पनि तल्ला बर्गका घरपरिवार र समुदायलाई प्राथामिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘थोरै जमिन भएका तल्ला बर्गका परिवार सुकुम्बासी हुनसक्ने अबस्था पनि आउनसक्छ, उहाँले भन्नुभयो, संविधानको मर्म भावना बुझेर त्यस्ता समुदायको रक्षा गर्नु उनिहरुलाई प्राथामिकता दिनु आयोजनको पहिलो कर्तव्य हुन आउछ ।’
उहाँले प्रभावितहरु मध्ये बोल्न नसक्ने, पहुँच नहुनेको भद्धगोल स्थिती देख्दा आफ्नो मन रोएको बताउनुभयो । राज्यले प्रभावितलाई दिने मुअब्जा रकमलाई दृष्टिगत रुपले हेर्दा मान्छे अलपत्र परेको गुनासो आएको उहाँको भनाई छ । तल्लो वर्गका प्रभावितका गुनासो लिएर चाङ्ग मात्रै नलगाई त्यसको हल गर्न पनि स्थानीय जनप्रतिनिधीलाई उहाँले अनुरोध गर्नु भएको छ ।
गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगर, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, आयोजना प्रमुख जगत श्रेष्ठको लगायतले धारणा व्यत्त गरेका थिए ।
छलफलमा गण्डकी गाउँपालिका–५ का वार्ड अध्यक्ष पवन वयलकोटी, शहिद लखन गाउँपालिका–८ वासु ढकाल, वडा नम्बर ९ का अध्यक्ष रामकुमार श्रेष्ठ, भिमसेन थापा गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष बिष्णु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बुढी गण्डकी आयोजना सरोकार समितिका अध्यक्ष जगन्नाथ खनालको अध्यक्षयतामा सम्पन्न भएको हो ।