गोरखा, ११ साउन । उत्तरी गोरखा जोड्ने माछाखोला-सोती सडक खण्ड पहिरोले अबरुद्ध भएको छ । गएराती गएको पहिरोले सडक अबरुद्ध भएको धार्चे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राकेश गुरुङले जानकारी दिनुभयो । उक्त सडक खण्डका २ भन्दा बढी स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको उहाँको भनाई छ ।
‘खानेबेशी र लापुबेशीको बिच भागमा एक ठाउँमा पहिरो गएको छ भने उत्तिस घारी नजिकै पनि पहिरो खसेको छ, उहाँले भन्नुभयो, उत्तिस घारीमा सुख्खा पहिरो खसेको हो, माथिबाट खसेको ढुङगा सडकको बिचमा खसेपछि बाटो अबरुद्ध भएका हो ।’ सडक अबरुद्ध खुलाउनका लागि प्रयास भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
‘सडक बिभागबाट टोली आएर पहिरो हटाउन सुरु भइसकेको छ, उहाँले भन्नुभयो, ‘डोजरको साहायताले बाटो सफा गर्न प्रयास गरिएको हो ।’सडक अबरुद्ध भएपछि खण्डखण्ड गरेर सवारी साधन सञ्चालन भएको उहाँको भनाई छ ।