गोरखा, ६ साउन । उत्तरी गोरखाको बिकट चुमनुव्री गाउँपालिका–६ खारकी एक युवतीको उद्धारमा ढिलाई हुँदा आज मृत्यु भएको छ ।
मुटुको बिरामी रहेकी स्थानीयबासी २१ बर्षकी मिङ्मा चेम्जोङको हेलिकप्टरबाट उद्धार गरि उपचारका लागि लैजान ढिलाई हुदाँ मृत्यु भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
‘दुर्गम क्षेत्र पर्ने भएकाले नजिकै स्वास्थ्य संस्था छैन, उद्धारमा खटिनु भएका स्थानीयबासी धावा ग्याल्जेन लामाले भन्नुभयोे, ‘आज बिहान ८ बजेदेखि उद्धारका लागि अनुमति लिन दौडघुप गरेँ, करिब २ बजेमात्र हेलिकप्टर उडानको अनुमति प्राप्त भयो, उडान अनुमति पाउनु र बिरामीको मृत्यु हुनु पनि एकैचोटी भयो ।’
जिल्ला प्रसासन कार्यालय गोरखाले जानकारी पाए लगत्तै उद्धारका लागि गृह मन्त्रालयमा समयमा नै पत्र पठाएको भएपनि गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयमा दौडधुप गर्दागर्दै झण्डै ६ घण्टापछि मात्र उद्धारका लागि उडान अनुमति पाएको उहाँले बताउनुभयो । समयमा उद्धारका लागि उडान अनुमति प्राप्त नुहदा चेम्जोङलाई उपचारका लागि अस्पताल पु¥याउन नसकिएको र घरमा नै मृत्यु भएको लामाको भनाई छ ।
‘दुर्गम क्षेत्रमा इन्टरनेट चल्ने ठाउँ छैन इन्टरनेट चल्ने ठाउँसम्म आउन पनि घण्टौ सयम लाग्छ, उहाँले भन्नुभयो, बिरामी मर्न लागि सक्यो यता अनुमति लिन बिरामीको नागरिकता फोटो कपि भएन अरु के–के भएन भनेर रोकिदिन्छन्, हामी दुगर्मका मान्छेले सधै उपचार नपाएरै मर्नुपर्ने हो ?’ उहाँले हेलिकप्टर उडानको अनुमति पत्र हातमा पर्नु र बिरामीको मृत्यु भएको खबर एकैचोटी भएपछि आफु अत्यन्तै स्तव्ध भएको बताउनुभयो ।
लामाले बिरामीको उद्धारका लागि बिहान १० बजेदेखि नै सिम्रिक एयरको हेलिकप्टर तयारी अबस्था राखेको भएपनि अनुमति प्राप्त गर्न अत्यन्तै ढिलाई भएकाले उद्धार नसकेको बताउनुभयो । ‘बिरामीलाई उपचारका लागि ल्याउन नपाउदै ज्यान गयो, लामाले भन्नुभयो, यता धरौटी बापतको १९ हजार रुपैयाँ पनि गुमेको छ, हाम्रो यो पिडा कसले बुझिदिन्छ ।’
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा गएको ३ महिनाको अबधीमा यस्तै प्रकारका ४ वटा घटना भइसकेको उहाँले जानकारी दिनुभयो ।