गोरखा, २७ असार । गोरखामा अवैध रुपमा जडिबुटी ओसारपसारमा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
संकलन तथा छुटपुर्जीबिना जडिबुटी ओसारपसार गरिरहेका धार्चे गाँउपालिका ५ यमगाउँका सुकबहादुर गुरुङलाई शनिबार अपरान्ह तीनबजे आरुघाटको बगैँचा टोलबाट पक्राउ गरिएको एसपी केदार खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुरुङको साथबाट १६ बोरा (करिब २९५ किलोग्राम) सेतक चिनी, दुईबोरा (४६ किलोग्राम) वनलसुन र दुईबोरा (४२ किलोग्राम) सतुवा बरामद गरिएको बताउनु भयो ।
यस्तै जडिबुटी ढुवानीका लागि प्रयोग गरिएको बागमती प्रदेश ०१–०२६ च ८०८२ नंबरको जीप पनि बरामद गरिएको उहाँले जानकारी दिनु भएको छ ।
जडिबुटी र गुरुङलाई सोमबार वन डिभिजन कार्यालयमा बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ ।