Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका ९ पालिका र भूमि आयोग बिच सम्झौता


5.3K
Shares

गोरखाका ९ पालिका र भूमि आयोग बिच सम्झौता

गोरखा, १८ असार  ः गोरखाका ९ वटा पालिका र राष्ट्रिय भूमि आयोग बिच भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने बिषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भूमिसम्बन्धी ऐन २०२१, भूमिसम्बन्धी नियमहरु २०२१, राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ र अन्य प्रचलित कानुनमा भएका व्यवस्था अनुरुपमा कार्य गर्ने गरि आयोग र गोरखाका स्थानीय तहहरु बिच आज सम्झौता भएको हो ।

सम्झौता पत्रमा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम स्थानीय तहले गर्ने उल्लेख गरिएको भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्कीले जानकारी दिनुभयो । त्यस्तै उनिहरुका घर परिवार संख्या लगत संकलन तथा प्रमाणिकरणको काम स्थानीय तहले गर्नेछ । सम्झौता गरेका गाउँपालिका र नगरपालिकाले लगत संकलन तथा प्रमाणिकरणको कार्य व्यवस्थित गर्न र निर्धारित समय भित्र सम्पन गर्नका लागि कार्ययोजना तयार पारी बजेट व्यवस्थापन गरेर कार्यान्वयनमा ल्याउने सहमती भएको उहाँले बताउनुभयो ।

त्यस बाहेक आयोग वा जिल्ला समितिसंग समन्वय गरि कार्यपालिकाका पदाधिकारी र भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र व्यवस्थापन सेवा केन्द्रमा रहने कर्मचारीको अभिमुखीकरणको व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउनेछ । आयोग र पालिकाहरुले भूमिहिन सुकुम्बासीलाई उपलब्ध गराउन सकिने जमिन पहिचान गरि नापनक्सा गर्न स्थानीय तह मार्फत जिल्ला समितिलाई सिफारिस गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा आयोगले भने स्थनीय तहलाई भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड उपलब्ध गराउने, सम्बन्धित नापी कार्यलय मार्फत जग्गा नाप नक्सा गर्न नापी टोली परिचालन गर्नुपर्नेछ । सम्झौता पत्रमा आयोगमा केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्का र जिल्ला स्थित पालिकाका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

आज सम्झौता गर्ने स्थानीय तहहरुमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, चुमनुव्री गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, धार्चे गाउँपालिका र सिरानचोक गाउँपालिका रहेका छन् । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले भने यस अघि नै आयोगसंग सम्झौता गरेर काम अघि बढाई सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology