गोरखा, १६ असार । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्रबाटै भुक्तानी सेवा सञ्चालन भएको छ ।
गाउँपालिका भित्र नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएपछि यसबर्षको आर्थिक कारोबार, असार मसान्तमा हुने बिलभुक्तानी तथा योजना फस्र्यौटको काम पालिकाको केन्द्रबाट गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
गत वर्षहरुमा उपभोक्ता समितिलाई कामको भुक्तानी दिन र बिल भरपाइ फरफारक गर्न असार लागेपछि सदरमुकाम पुग्नु गर्ने बाध्य थियो । यस बर्ष भने नेपाल टेलिकमको फोरजी सेवा चलेसँगै पालिकाको कार्यालयबाटै इलेक्टोनिक्स फण्ड ट्रान्सफर (इएफटी) सेवामार्फत भुक्तानी दिएको उहाँले बताउनु भयो ।
पालिकाको केन्द्रबाटै भुक्तानी सेवा सञ्चालन भए सँगै स्थानीयबासीलाई चार, पाँच दिनको बाटो हिँडेर भुक्तानी लिन सदरमुकाम पुग्नु पर्ने बाध्यताबाट मुक्त भएका छन् । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार अहिलेसम्म योजनाको करिब ५० प्रतिशत भुक्तानी दिइसकेको बताउनु भयो ।
मौसम प्रतिकूल भएन भने यसबर्ष असार मसान्तको आर्थिक कारोबार गाउँपालिकाबाटै सम्भव हुने पालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनु भयो । यसमा आफू पनि निरन्तर खटिरहेको साथै सबै वडाअध्यक्षलाई गाउँपालिकाको केन्द्र फिलिममा आएर आ–आफ्नो वडाका योजनाहरुको भुक्तानी प्रक्रियामा सहजीकरण गर्न सुझाव दिएको उहाँले बताउनु भयो ।
अहिले गाउँपालिकाको केन्द्र फिलिममा कुमारी वैँकको सिर्दिबास शाखाले सेवा दिइरहेको छ । फोरजी सेवा सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रबाटै भुक्तानी दिएको सो अहिलेसम्मको यो पहिलो पटक हो ।