गोरखा, ५ असार । भीमसेन थापा गाउँपालिका गोरखाले शनिबार आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट निर्माणका लागि सरोकारवालाहरुसंग सुझाव संकलन गरेको छ । गाउँपालिकाले भर्चुयल बिधि मार्फत भेलाको आयोजना गरेर समाजबाद उन्मुख बजेट निर्माणका लागि सरोकारवालाहरु संग छलफल गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
बैठकमा सहभागीहरुले बजेट निर्माण गर्दा तत्कालिन, मध्यकालिक तथा दिर्घकालिन रुपमा काम गर्न सकिने गरी बनाएर निर्माण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएको उहाँको भनाई छ । त्यस्त बाहेक टुक्रे बजेट निर्माण गर्न नहुने तथा शिक्षा स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार बिकासमा बजेटको प्राथामिकता हुनुपर्नेमा सहभागीहरुको जोड रहेको अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
गाउँपालिकाले सामाजिक सञ्जाल मार्फत पनि नीति कार्यक्रम तथा बजेट निर्माणका लागि जनतासंग सुझाव माग गरिरहेको छ । पालिका भित्रका मात्र नभएर बाहिरका समेत बिज्ञ बिशेषज्ञ तथा सरोकारवालाहरु छलफल र सुझाव लिएर गाउँपालिकाले आगामी बजेटलाई समाजबाद उन्मुख जनपक्षिय बजेट निर्माण गर्न लागेको अध्यक्ष बन्जराले बताउनुभयो ।