गोरखा, ४ असार । गोरखामा ग्याँस सिलिण्डर बिस्पोटमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाँउपालिका वडा नम्बर ७ खाब्दीमा घरभित्र रहेको खाना पकाउने ग्याँस सिलिण्डर बिस्पोट हुदा स्थानीयबासी ६९ बर्षकी केशरीमाया बस्तीको मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । गएराती घटना भएको भएपनि स्थानीयबासीहरुले बिहान करिब ७ बजेमा घटनाको बारेमा जानकारी पाएका थिए । एकान्तमा रहेको घर र एक्लै बस्दै आएकी वस्तीका छोराले भने खाब्दी बजारमा ब्यापार ब्यवसाय गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
‘घटना हेर्दा हिजै साँझ घटेको जस्तो देखिन्छ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले भन्नुभयो, ‘तर बिहान ७ः३० बजे मात्र मृतकका छोराले थाहा पाएर सबैलाई जानकारी गराएपछि घटनाको बारेमा थाहा भएको हो ।” घर पुर्ण रुपमा क्षति भएको छ भने महिलाको शरिर पुरै जलेको अवस्थामा फेला परेको छ । साथै घरमा प्रयोग गर्दै आएको ग्यास सिलिण्डर समेत विष्फोट भएको अवस्थामा फेला परेको गोरखा प्रहरीले जनाएको छ । तर ग्यास कुन कम्पनीको हो सो को बारेमा भने जानकारी नभएको गोरखा प्रहरीले जनाएको छ।