गोरखा, १२ जेठ । गोरखाको शहिद लखन गाउँपालिका ५ स्थित सिँजाली माध्यमिक विद्यलयका विधार्थीहरुलाई चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले स्टेशनरी सामग्री वितरण गरेको छ । साझेदारी संस्था ग्लोवल कोअपरेशन फर डेभलपमेण्टको व्यवस्थापनमा चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले उक्त विद्यालयका दुईसय जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।
ग्लोवल कोअपरेशन फर डेभलपमेण्टका प्रमुख मुक्ति परासिनीले सो सामग्री गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरलाई हस्तान्तरण गरेका थिए । संस्थाबाट प्राप्त स्टेशनरी र व्यक्तिगत सरसफाइका २१ थरीका सामग्रीले भरिएको झोला मंगलबार विद्यार्थीलाई वितरण गरेको विद्यलयका प्रधानाध्यापक बल नारायण श्रेष्ठले जानकारी दिनु भयो ।
चाइना फाउण्डेशनले यसबर्ष विभिन्न जिल्लाका १० हजार जना विद्यार्थीलाई सो सामग्री प्रदान गर्ने लक्ष्य राखेको संस्थाका प्रमुख मसासिनीले बताउनु भयो । हालसम्म सातहजार भन्दा धेरै विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिसकेको उहाँले जानकारी दिनु भयो। सोलुखुम्बु, पर्वत, चितवन, गोरखा, लम्जुङ, बाग्लुङ, म्याग्दी, ललितपुर, काठमाडौँका विद्यार्थीलाई सहयोग सामग्री प्रदान गर्ने लक्ष्य रहेकामा बाग्लुङ र म्याग्दीबाहेक सबै जिल्लामा वितरण गरिएको उहाँले बताएका छन् । आउँदो असारसम्म लक्ष्य अनुसार सबैलाई उक्त सामग्री वितरण गरिसक्ने उहाँले जानकारी दिनु भयो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापा, दातृ संस्थाका प्रमुख मरासिनी, प्रअ श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।