गोरखा, २ जेठ । गोरखाको गोरखनाथ मन्दिरमा आजदेखी १९ औं सवालाख रोट महोत्सव सुरु भएको छ । कोरोना संकटका कारण लगातार २ वर्ष सीमित भक्तजनको उपस्थितिमा गोरखनाथलाई रोट चढाइएको थियो । यो वर्ष भने महोत्सवकै रुपमा कार्यक्रम गरिने आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।
आज बिहान सदरमुकामको शक्तिचोकस्थित सिद्धाश्रम शक्ति केन्द्रको कार्यालयबाट शोभायात्रा गरिएको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले बताउनुभयो ।
महोत्सव अबधिभर लोक चुटका भजन एबं नृत्य लगायतका कार्यक्रम गरिने उहाँले बताउनु भएको छ । हरेक दिन स्तोत्र पाठ, मन्त्रजप, हवन, पुजन, भजनकिर्तन, रोट अर्पण, प्रसाद वितरण कार्यक्रम गरिनेछ ।
महोत्सव अवधीमा करीब ३० हजार भक्तजनले रोट चढाउने अनुमान गरिएको छ । महोत्सवमा भारत सहित देशका विभिन्न जिल्लाबाट पनि भक्तजनहरुको सहभागीता रहने बताइएको छ । काठमाण्डौ, कास्की, भक्तपुर, तनहु, लमजुङ, बाग्लुङ, स्याङजा नुवाकोट लगायतका जिल्लाबाट पनि भक्तजन सहभागी हुने आयोजकले बताएको छ ।
भक्तजनलाई आयोजकले खानेबस्ने सुविधा निशुल्क रुपमा उपलब्ध गराउने केन्द्रका केन्द्रिय अध्यक्ष अर्यालले जानकारी दिनुभयो । गोरखनाथको सबैभन्दा प्रिय बस्तु रोट भएकाले एक रोट चढाउदा एउटा पृथ्वी चढाएजति पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।
चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका ३२ प्रकारका मसला मिसाएर घ्यूमा पकाएर रोट बनाईन्छ ।