गोरखा, २० बैशाख । गोरखामा जिप दुर्घटना परि मृत्यु भएका तिनै जनाको पहिचान भएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका–५, चनौटे घर भएका ५० बर्षका देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नम्बर १४ का ८० बर्षिया कृष्णप्रसाद सिग्देल र काठमाण्डौं महानगरपालिका १६ बस्ने ५१ बर्षका पदम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज कोइरालाले जानकारी दिनुभयो ।
सिरानचोक गाउँपालिका वडा नम्बर ५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकीराखेको बा. १४ च ७८१ स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्तीहरु चढ्ने क्रममा एकजनाले ह्याण्ड ब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उहाँले बताउनुभयो ।
चालक चढ्न नपाउदै जन्तीहरु चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटे स्थित फिरफिरे भिरबाट खसेको हो । भिरबाट झण्डै २ सय मिटर तल खसेको थियो । जिपमा ५ जना सवार रहेकोमा अन्य २ जनाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीको भनाई छ । मृतक तिनै जनाको शव पोष्टर्माटमा लागि गोरखा अस्पतालमा ल्याएको छ । आज नै शवको पोष्टमार्टम गरि अन्त्येष्टीका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ