गोरखा १७, चैत । गोरखाको एक सामुदायिक बिधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत छनोट भएको छ । सरकारले ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि छनोट गरेका १ सय ४० सामुदायिक विद्यालय मध्ये गोरखाको एक बिधालय पनि छनोटमा परेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना निकालेर निर्देशक समितिको बैठकले छनौट गरेको विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।
कार्यक्रम सञ्चालनका लागि गोरखा नगरपालिका ९ लक्ष्मीबजारको श्री महालक्ष्मी मावि छनोटमा परेको केन्द्रले जनाएको छ । कार्यविधि अनुसार छनौट परेका विद्यालयका विद्यार्थीले बाली विज्ञान, पशु विज्ञान, बागवानी, सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउने केन्द्रले जनाएको छ ।
यसका साथै, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट, मौरीपालन, च्याउ खेती र रेसम खेती गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन् । यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो । केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो ।